ताजा अपडेट :
खोटेहाङ गाउँपालिकाको संक्षिप्त परिचय
खोटेहाङ गाउँपालिका प्रदेश नं १ अन्तर्गत खोटाङ जिल्लामा पर्दछ । खोटेहाङ गाउँपालिका खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बाट करिब ९५ किलोमिटर दक्षिण तर्फ ४२९५ फिट उचाइमा १६४.०९ वर्गकिलोमिटर क्षेत्रफलमा अवस्थित छ । यस गाउँपालिकाको छिमेकी गाउँपालिकाहरुमा दक्षिण तर्फ जन्तेढुंगा र बराहा पोखरी गाउँपालिका रहेका छन भने उत्तर तर्फ दिप्रुङ र साकेला गाउँपालिका रहेका छन । त्यस्तै पूर्व तर्फ भोजपुरको रामप्रसाद गाउँपालिका र टेम्के मैयुम गाउँपालिका रहेकाे छ भने पश्चिम तर्फ उदयपुरको रौतामाई गाउँपालिका रहेको छ । यस गाउँपालिकामा जम्मा ९ वटा वडाहरु (लिकुवा पोखरी–१, वाप्लुखा–२, सावाकटहरे–३, वड्का दियाले–४, चिप्रिङ–५, इन्द्रेणी पोखरी–६, खोटाङ बजार–७, सिम्पानी–८ र लिच्किराम्चे–९) रहेका छन् भने गाउँ कार्यपालिकाको कार्यालय वडा नं ७ अन्तर्गत खोटाङ बजारमा रहेको छ ।
यस गाउँपालिकालाई पर्यटकिय क्षेत्रको दृष्टिकोणले हेर्ने हो भने गाउँपालिकाबाट उत्तर तर्फ रहेको ४ नं. वडामा अवस्थित सोलढुङ्गा, ६ नं. वडामा रहेको इन्द्रेणी पोखरी डाँडा र २ नं. वडाको मुलडाँडा सेल्मे कपासे भञ्जयाङ अत्यन्तै सम्भावना बोकेको पाइन्छ । त्यति मात्र हैन गाउँपालिकाबाट उत्तर तर्फमा अवस्थित रानीबन पनि सुन्दरताले भरिपूर्ण रहेको पाइन्छ ।
यस गाउँपालिकामा विशेष गरेर राई जातिको वाहुल्यता रहे पनि क्षेत्री, बाहुन, तामाङ, गुरुङ, नेवार, कामी, दमै सार्की ,मगर साथै थामि जातिको पनि वसोवास रहेको छ ।
यस गाउँपालिकाको जम्मा जनसंख्या २३,७३१ रहेको छ भने जसमध्य पुरुष ११,५७७ र महिला १२,१५४ रहेको छ । यस गाउँपालिकाका अधिकाम्स कृषी पेशामा निर्भर रहेका छन भने केही मात्रामा सरकारी नोकरी, व्यापार, व्यवसाय, वैदेशिक रोजगार, सिकर्मी तथा डकर्मी पेशामा निर्भर रहेका छन् ।